नेपालगन्जका २० सहित ४७ जनामा कोरोना संक्रमण


नेपालगन्जका २० सहित ४७ जनामा कोरोना संक्रमण

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर जाँचका क्रममा बाँकेमा थप ३९ जनामा कोरोना संक्रमण पाइएकोछ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ३ स्वाब परीक्षण गर्दा बाँकेका ३९ सहित थप ४७ जनामा कोरोना संक्रमण पाइएकोछ । योसगैं बाँकेमा कोरोना संक्रमित संख्या एक हजार एक सय ३४ पुगेकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाको उक्त रिर्पोट अनुसार बाँकेको नेपालगन्जमा सबैभन्दा बढि कोरोना संक्रमित थपिएकाछन् । नेपालगन्जमा मात्रै बिहीबार थप २० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा नेपालगन्जका ४ महिला सहित १६ पुरुष गरि २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै बाँकेको नेपालगन्जपछि सबै भन्दा बढि कोहलपुरमा कोरोना संक्रमित देखिएकाछन् । बिहीबारमात्रै कोहलपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला सहित १४ पुरुष गरि १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी कोरोना संक्रमण देखिनेमा बर्दियाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । बर्दियाका ३ महिला र ५ पुरुष सहित ८ जानमा कोरोना संक्रमण देखिएको हो । बर्दियाको गुलरियाका ४ जना, मधुबनका ३ जना र बाँसगढिका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा हालसम्म ३६ हजार ८७ नमुना परीक्षणका लागि प्राप्त हुदाँ ३५ हजार ७ सय ८७ नमुना परीक्षण भएको छ । जसबाट हालसम्म १ हजार ६ सय ५५ जनामा संक्रमण देखिएको छ । भने एक सय नमुना जाँचका लागि तयारी अवस्थामा रहेकोछ ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि नयाँ विधि अपनाएकोछ । सो विधि अनुसार अब भोली शुक्रबारदेखि जिल्लामा दुई दिनसम्म निषेधाज्ञा लाग्नेछ । यो निषेधाज्ञा अवधिभर कुनैपनि सवारी साधन चल्न पाउने छैनन भने आम सर्वसाधरणलाई घरदेखि बाहिर निस्कन दिइनेछैन ।

दुईदिनको निषेधाज्ञाको विधि अपनाएको बाँके प्रशासनले शुक्रबार र शनिबार सर्वसाधरणको उल्लेख्य भिड लाग्ने हुदाँ यी दुईदिन कडाईका साथ अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

उनका अनुसार अत्यावश्यक कामबाहेक घरबाहिर निस्कने वा बाँके प्रशासनले जारी गरेको सूचनालाई अवेज्ञा गर्ने जोकोहीलाई तत्काल संक्रामक रोग निवारण ऐन अन्तरगत कारबाही गरिनेछ ।

पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको नयाँ हटस्पटका रुपमा बाँकेको नेपालगन्ज र कोहलपुर बन्दै गएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट प्राप्त रिर्पोटका आधारमा बाँकेको नेपालगन्ज र कोहलपुरमा लगातार कोरोना संक्रमित ब्यक्तिहरु भेटिन थालेका छन् । यसले बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गरेकोछ । यद्यपी बाँकेका अन्य पालिकामा पनि कोरोना भाइरस संक्रमितहरु भेटिन थालेकाछन् । यो दर विस्तारै उकालो लागिरहेकोछ ।

हालसम्म बाँके जिल्लामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । जसमा जिल्लामै सबैभन्दा बढि बाँकेको नेपालगन्जमा मृत्यु भएकोछ । नेपालगन्जका तीन जनाको मृत्यु भएको छ । यद्यपी बाँकेको नरैनापुरका एक युवक जिल्लामै मृत्यु हुने पहिलो संक्रमित ब्यक्ति हुन् । यस्तै कोहलपुर र बैजनाथ गाउँपालिका पनि एक÷एक जना महिलाको मृत्यु भइसकेकोछ ।