नेपालगन्ज : तपाईलाई कोरोना लागेको आशंका छ ? कोरोनासंग मिल्दो कुनै लक्षण देखिएकोछ ? वा कोरोना भाइरस संक्रमणको जाँच गराउन मन लागेकोछ ? यदि हो भने भेरी अस्पताल नेपालगन्जमा अब स्वैच्छिक रुपमा जाँच गराउन सक्नुहुनेछ । तर, त्यसका लागि न्यूनतम शूल्क तिर्नुपर्ने हुन्छ ।
कोरोना भाइरस संक्रमण महामारिकाबीच बाँकेको भेरी अस्पतालमा स्वैच्छिक रुपमा आरटी–पिसिआर विधिबाट कोरोना जाँच गराउने वतावरण बनेकोछ । यसका लागि भेरी अस्पतालले कोरोना जाँचको शुल्क निर्धारण समेत गरिसकेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरका ब्यक्तिले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैँया शुल्क तिर्नु पर्नेछ ।
अस्पताल ब्यवस्थापन समितिको विहीवार बसेको बैठकले शुल्क निर्धारण गरेको भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिलालले जानकारी दिए । उनले ब्यक्तिगत प्रयोजनका लागि पीसिआर जाँच गराउनेहरुसँग शुल्क लिइने बताए । ‘कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरका ब्यक्तिले कोरोना जाँच गराए शुल्क तिर्नुपर्ने छ,’ उनले भने ।
प्रशासनको सिफारिसको आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारी लगायत कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको भने निःशुल्क कोरोना जाँच गरिनेछ ।
‘कोरोनाको लक्षण देखिएर भेरी अस्पतालमा भर्ना भएका विरामीको पनि निःशुल्क कोरोना परीक्षण गरिनेछ,’ अध्यक्ष धितालले भने । स्वास्थ्य मन्त्रालयले शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति दिए पनि शुल्क निर्धारण नभएकोले बिहीबार शुल्क निर्धारण गरिएको हो ।
यसअघि भेरी अस्पतालले शुल्क लिएर पीसिआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको थियो । त्यसो त भेरी अस्पतालमा सञ्चालनमा रहेको कोरोना जाँच प्रयोगशालामा कोरोना परीक्षण भने भइरहेको थियो ।