नेपालगन्ज : कोरोना भाइरस सक्रमणका बीच कोरोना बीमा गराएकाले बीमा दाबी भुक्तानी गर्न नपाउने भएकाछन् । बीमा समितिका अनुसार निजी ल्याबमा कोरोना परीक्षण गर्नेले कोरोना बीमा दाबी भुक्तानी नपाउने भएकाहुन् । निजी ल्याबबाट कोरोना बीमा लिनका लागि भएपनि ‘फ्रड’ (झुठो) कार्य गरेको पाइएकाले निजी ल्याबबाट कोरोना परीक्षण गराएकालाई बीमा दाबी भुक्तानी नदिने बीमा समितिले जनाएकोछ ।
समितिको यस्तो निर्णय पछि अब निजी ल्याबबाट कोभिड–१९ परीक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ आए पनि कोरोना बीमा दाबी भुक्तानी नपाउने भएका छन् । बीमा समितिले कारोना बीमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार निजी ल्याबबाट हुने गरेको परीक्षणमा ‘फ्रड’को आशंका लागेकाले दाबी भुक्तानी नदिन निर्देशन गरिएको हो ।
उनले भने,‘सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखियो । सरकारी योजनामा फ्रड हुन नहुने भन्दै उक्त निर्देशन दिएका हौं ।’
यसअघि राजधानीकै जनप्रतिनिधिको कोरोना परीक्षण निजी ल्याबमा गर्दा पोजिटिभ आएको थियो । पछि सरकारी ल्याबमा परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना बीमा कार्यविधि मै सरकारीबाट मान्यता प्राप्त सरकारी ल्याबबाट गरिएको परीक्षणका आधारमा मात्र दाबी भुक्तानी गरिने उल्लेख भएको पौड्यालले जानकारी दिए ।
यसको अर्थ बीमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बीमा कम्पनीबाट दाबी भुक्तानी पाउने गरी निर्देशनको तयारी गरिएको उनले जानकारी दिए ।
यता बाँकेमा भेरी अस्पतालमा रहेको प्रयोगशालाबाट मात्र कोरोना जाँच भइरहेका बेला पछिल्लो पटक बाँकेको कोहलपुर स्थित बागेश्वरीले सरकारी मान्यता प्राप्त गरेको । जिल्लामै एक मात्र कोरोना जाँचका लागि सरकारी मान्यता प्राप्त यो ल्याबमा कोरोना जाँच भइरहेकोछ ।
यस्तै हिजो बिहीबारबाट भेरी अस्पताल नेपालगन्जले स्वैच्छिक शुल्क तिरेर कोरोना जाँच गराउन पाउने ब्यवस्था शुरु गरेकोछ । यसका लागि प्रती ब्यक्ति २ हजा २ सय रुपैयाँ निर्धारण गरेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरका ब्यक्तिले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैँया शुल्क तिर्नु पर्ने भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।