कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सातामा दुईदिन निषेधाज्ञा


कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सातामा दुईदिन निषेधाज्ञा

नेपालगन्ज : पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि नयाँ विधि अपनाएकोछ । सो विधि अनुसार हप्तामा दुई दिन शुक्रबार र शनिबा निषेधाज्ञा लगाइएकोछ । यो निषेधाज्ञा अवधिभर कुनैपनि सवारी साधन चल्न पाउने छैनन भने आम सर्वसाधरणलाई घरदेखि बाहिर निस्कन दिइनेछैन ।

दुईदिनको निषेधाज्ञाको विधि अपनाएको बाँके प्रशासनले शुक्रबार र शनिबार सर्वसाधरणको उल्लेख्य भिड लाग्ने हुदाँ यी दुईदिन कडाईका साथ अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

उनका अनुसार अत्यावश्यक कामबाहेक घरबाहिर निस्कने वा बाँके प्रशासनले जारी गरेको सूचनालाई अवेज्ञा गर्ने जोकोहीलाई तत्काल संक्रामक रोग निवारण ऐन अन्तरगत कारबाही गरिनेछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको भदौ १२ गते शुक्रबार बसेको बैठकले हप्तामा दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो । तर, यो निषेधाज्ञा यसअघि सर्वसाधरणको सहजताका लागि दिइएको भन्दा पृथक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए । उनले भने ‘हप्ताको दुई दिन शुक्रबार र शनिबार जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा लगाइनेछ । यो अवधिमा पसल ब्यवसायदेखि सबै कुरा ठप्प पारिनेछ ।’

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहनु र मृतकको संख्या बढेर जाँदा सर्वसाधरणको उपस्थिती नियन्त्रणका लागि यो विधि अपनाइएको हो । प्रजिअ कुरुम्वाङ्गले भने ‘हप्ताको दुई दिन पूर्णरुपमा बन्द गर्दा केही कन्ट्रोल हुने आँकल गरेका छौं यसको अर्थ अन्य दिन भीडभाड गर्ने र मनपरि गर्ने भने होइन ।’

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका विषयमा छलफल हुदाँ यो विधि अपनाउने निर्णय भएकोहो । सोही निर्णय अनुरुप आजदेखि निषेधाज्ञा शुरु भएकोछ ।

जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्न सक्ने आँकलन गर्दै प्रजिअ कुरुम्वाङ्गले भने–‘सावधानी, उच्च सतर्कता र स्वास्थ्य सम्बन्धि मापदण्डलाई पूर्णरुपमा पालना गर्ने ब्यक्ति नै सुरक्षित हुन्छ । तर, यसका विरुद्ध जानेले सबैलाई संकटमा पार्न सक्छन् ।’
लगातार कोरोना संक्रमणको दर उकालो लागिरहदाँ बाँकेको नेपालगन्ज र कोहलपुर कोरोनाको हटस्पट बन्दै गएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट प्राप्त रिर्पोटका आधारमा बाँकेको नेपालगन्ज र कोहलपुरमा लगातार कोरोना संक्रमित ब्यक्तिहरु भेटिन थालेका छन् ।

यसले बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गरेकोछ । यद्यपी बाँकेका अन्य पालिकामा पनि कोरोना भाइरस संक्रमितहरु भेटिन थालेकाछन् । यो दर विस्तारै उकालो लागिरहेकोछ ।

हालसम्म बाँके जिल्लामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । जसमा जिल्लामै सबैभन्दा बढि बाँकेको नेपालगन्जमा मृत्यु भएकोछ । नेपालगन्जका तीन जनाको मृत्यु भएको छ । यद्यपी बाँकेको नरैनापुरका एक युवक जिल्लामै मृत्यु हुने पहिलो संक्रमित ब्यक्ति हुन् । यस्तै कोहलपुर र बैजनाथ गाउँपालिका पनि एक÷एक जना महिलाको मृत्यु भइसकेकोछ ।