नेपालगन्ज : देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
देशभर शुक्रबार ४६४ महिला र ८९५ पुरुष गरि थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण देखिएसगैं कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्ट जागेश्वर गौतमले बताए ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । यसबीच पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसगैं हालसम्म २५ हजार ५ सय ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।
देशभरका १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी शुक्रबारसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ९ सय ४२ जना र होम आइसोलेसनमा ७ हजार ४ सय ६२ रहेका छन् । शुक्रबारसम्म देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् ।
यसबीच, देशभर कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका थप १४ जनाको मृत्यु भएको हो । योसगैं कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।