एकै दिन ३४ जनामा कोरोना पुष्टि
नेपालगन्ज : कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा बर्दियाको बाँसगढी नगरपालिका ‘कोरोना हटस्पट’ बनेकोछ । बर्दियाको बाँसगढीमा मात्रै आईतबार ३४ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । हालसम्मै जिल्लामा एकैदिन यति ठूलो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएपछि बर्दियाको बाँसगढी कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएकोछ ।
पछिल्लो पटक समुदायमै कोरोना भाइरस संक्रमण फैलिसकेको अवस्थामा जिल्लाबासीले पीसिआर जाँचका लागि आवज उठाउदै आएका थिए ।
सर्वसाधरणले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि प्रभावकारीरुपमा कन्ट्रयाक्ट ट्रेसिङ्ग गरि पीसिआर परीक्षणको दायार बढाउन स्थानीय प्रशासनसंग आग्रह गरेका थिए ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाद्वारा जारी पीसिआर परीक्षणको रिर्पोटमा सबै भन्दा बढि बर्दियामा कोरोना संक्रमित भेटिएको हो । पछिल्लो २४ घण्टामा गरिएको ३१३ स्वाब परीक्षणका क्रममा ३७ महिला ४३ पुरुष गरि ८० जनामा कोरोना संक्रमण देखिएको छ ।
आईतबार भेटिएको कुल कोरोना संक्रमित ८० मध्ये ३८ जना मात्रै बर्दियाका संक्रमित हुन् । जसमा सबैभन्दा बढि बाँसगढी नगरपालिकामा मात्रै ३४ जना संक्रमित थपिएकाछन् ।
यस्तै आईतबार सार्वजनिक रिर्पोटका अनुसार बर्दियाको बढैयाताल गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण देखिएको ।
पछिल्लो पटक एकैदिन सबैभन्दा बढि कोरोना संक्रमित बर्दियामा फेला परेका हुन् । हालसम्म बर्दियामा एक जना मृत्यु भएका ब्यक्तिमा कोरोना पुष्टि भएको छ ।