२७ कोरोना संक्रमित भेन्टिलेटरमा, १७४ जना आईसीयूमा उपचाररत
नेपालगन्ज : कोरोना भाइरसका देशभर थप ९ सय ८० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको बताए ।
आईतबार थपिएका मध्ये २ सय ९० महिला र ६ सय ९० पुरुष गरि ९ सय ८० जनामा कोरोना भाइरस देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । योसगैं देशभर आजसम्म सक्रिय संक्रमितको १७ हजार २७ जना रहेको छ ।
यस्तै देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएकोछ । भने हालसम्म डिस्चार्ज हुने दर ६३ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६८ हजार ३ सय ४५ पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार २ सय १ जना र होम आइसोलेसनमा ७ हजार ८ सय २६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३ सय ३ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयको कोरोना रिर्पोट अनुसार आईतबार मात्रै बागमती प्रदेशमा २१ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना गरी २७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा बढि १ सय ९ जना रहेका छन् ।
देशभर कोरोना संक्रमित भेटिरहदाँ मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या २८९ पुगेकोछ ।