नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएकोछ । गाउँपालिकामै पहिलोपटक आईतबार सबैभन्दा बढि कोरोना संक्रमित भेटिएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाको रिर्पोट अनुसार खजुरा गाउँपालिकामा आईतबार २१ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै आज राती १२ बजेदेखि लागु हुने गरि खजुरा गाउँपालिकामा निषेधाज्ञा लगाइएकोछ ।
नेपालगन्ज–गुलरिया सडकखण्डको कपास विकासदेखि वीपि प्रतिक्षालयसम्मको दायाँबायाँ ५ सय मिटर क्षेत्रमा पर्ने सबै वडामा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको उक्त सूचनामा उल्लेखछ । प्रशासनद्वारा जारी उक्त सूचनामा आगामी भदौ २७ गते राती १२ बजेसम्मका लागि उक्त क्षेत्र निषेधाज्ञा लगाइएको हो ।
खजुरा गाउँपालिकाको भदौ २१ गते बसेको कार्यपालिकाको बैठकबाट उक्त क्षेत्र सिल गर्ने भनि सिफारिस आएकोले सोही अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय गरेको हो ।
यो अवधिमा स्वास्थ्य, शान्ति, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, डेरी र एटिएम जस्ता अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाउनेछन् ।
यस्तै यो अवधिमा एम्बुलेन्स, शव बहान, झण्डावाला गाडी, कुटनितिक गाडी, लामो दूरीका मालबहाक गाडी, निर्माण सम्बन्धि ढुवानीका सवारी साधन, अत्यावश्यक सेव सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी तथा सवारी पास पाएका साधन मात्र चल्न पाउनेछन् ।
प्रशासनद्वारा जारी निर्देशनको अवेज्ञा गर्ने वा बाधा पुर्याउने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने उक्त सूचनामा उल्लेछ ।