नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशका ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । भने कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।