आकस्मिक बाहेकका सेवा बहिस्कार


आकस्मिक बाहेकका सेवा बहिस्कार

नेपालगन्ज स्थित भेरी प्रादेशिक अस्पताल । तस्विरः विजय मल्ल/सद्भाव

नेपालगन्ज : आन्दोलनरत सरकारी चिकित्सकहरूले भेरी अञ्चलसहित देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दबाब दिँदै आएका सरकारी चिकित्सकले शुक्रबार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्।

स्थानीय तहको मातहत रहने तथा आफूहरूको वृत्तिविकास समेत नहुने गरी ल्याएको सो ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवाहरू बहिष्कार गर्नुपरेको चिकित्सक संघ, नेपालले बताएको छ । सरकारी चिकित्सकहरूले आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत एक महिनायता विरोध प्रदर्शन र धर्नासहितको कार्यक्रम गर्दै आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरूको माग सुनुवाइ नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सुरू गर्नु परेको स्पष्ट पारेका छन् । सरकारी चिकित्सकहरूले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरूको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् । उपचारका लाथि भेरी अस्पताल पुगेका बिरामीहरूले आफूहरूलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

अस्पतालमा पुगेका बिरामीहरूले आफूहरू अस्पताल आएको तर टिकट काउन्टरनै बन्द भएको भन्दै गुनासो समेत गरेका छन् । अस्पताल आएका बिरामीहरूले उपचार गर्न समेत नपाउने अवस्था आएकोमा आपत्ति समेत जनाएका छन् । सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित निजामती कर्मचारी ऐन ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरूले आन्दोलन झनै सशक्त बनाउँदै लगेका हुन् ।