देशभर २५ कोरोना संक्रमितको भेन्टिलेटर र १७० जनाको आईसीयूमा राखेर उपचार हुँदै, मृतकको संख्या ३२२ पुग्यो
नेपालगन्ज : कोरोना भाइरस महामारीकाबीच देशभर हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएकाछन् । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणका क्रममा अहिलसम्मकै धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबार एक हजार ४ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसगैं देशभर कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ९ सय ७२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३६ हजार ६ सय ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार २ सय ९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने १ सय ७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५ जना रहेका छन् ।
यसअघि आइतबार देशभर ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८ सय १४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो ।
यस्तै सोमबार देशभर ९ सय ७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७ सय ३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी मंगलबार ९ सय २ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २ सय ८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
यस्तै बुधबार एक हजार ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी यस अवधिमा ९ सय १८ जना डिस्चार्ज भएका छन् । बुधबार पनि ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
हिजो बिहीबार एक हजार २ सय ४६ कोरोना भाइरस संक्रमित देखिएका थिए । त्यसैगरी एक हजार ८ सय १८ डिस्चार्ज भएका छन् । बिहीबार ५ जनाको मृत्यु भएको छ ।