रिएजेन्ट अभावका कारण भेरीमा कोरोना जाँच भएन


रिएजेन्ट अभावका कारण भेरीमा कोरोना जाँच भएन

नेपालगन्ज : कोरोना भाइरस परीक्षणका लागि प्रयोग हुदै आएको रिएजेन्ट अभावका कारण भेरी अस्पाताल नेपालगन्जको प्रयोगशालाले पीसिआर जाँच गरेन । जसका कारण शुक्रबार भेरी अस्पतालको उक्त प्रयोगशालाले कुनैपनि रिर्पोट सार्वजनिक गर्न सकेन ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा रिएजेन्ट अभावका कारण संकलित स्याम्पल परीक्षणमा ढिलाइ भएको हो । प्रयोगशालामा भएको रिएजेन्ट सकिएका कारण स्याम्पल परीक्षणमा ढिलाइ भएको पाइएको छ ।

भेरी अस्पतालको प्रयोगशालाका अनुसार कोरोना जाँचका लागिप्रयोग हुने रिएजेन्ट अभावका कारण समयमा स्याम्पल परीक्षण हुननसक्दा शुक्रबार कुनैपनि रिपोर्ट सार्वजनिक भएन । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अबेर राती ९ सय र प्रदेश सरकारले एक सय रिएजेन्ट शुक्रबार अबेर राती भेरी अस्पताल नेपालगन्ज आइपुगेकोछ ।

शुक्रबार अबेर राती रिएजेन्ट आएसगैं यसअघि संकलन गरिएको स्वाब परीक्षणको प्रक्रियामा रहेकोले शनिबार बिहानसम्म एक चरणको रिर्पोट आउने अस्पतालले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार भेरी अस्पताल नेपालगन्जले कोरोना भाइरस सम्बन्धि कुनैपनि रिर्पोट सार्वजनिक नगरेपछि विभिन्न खाले टिकाटिप्पण भएको थियो । कतिपयले त भेरी अस्पतालमा रहेको पीसिआर मेशिन नै विग्रिएको आरोप लगाएका थिए । तर रिएजेन्ट अभावका कारण भेरी अस्पतालको प्रयोगशालाले परीक्षण रोकेको हो ।

कोरोना भाइरस संक्रमणकाबीच देखिएको समस्याका विषयमा यतिबेला भेरी अस्पताल गम्भीर भएर लागेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल बताँउछन् । उनले भने –‘कोरोना जाँचका लागि आउवश्यक पर्ने रिएजेन्ट खरिदका विषयमा छलफल भएकोछ । अझैपनि संकलित स्वाब परीक्षणका लागि तयारी अवस्थामा राखिएकोछ । तर, बाहिरी जिल्लाको कन्ट्रयाक्ट टे«सिङको समेत स्याम्पल अस्पतालमा आउने गरेकाले त्यस्को परीक्षण के गर्ने भन्नेबारेमा भने निर्णय हुन सकेको छैन् ।’

भेरी अस्पतालमा रिएजेन्ट अभाव भएकै कारण बर्दियाको बाँसगढीबाट संकलित २ सय स्याम्पल राप्ती प्रादेशिक अस्पताल दाङ पठाइएको छ । यसअघि बर्दियाको स्याम्पल पनि भेरीमै परीक्षण हुने गरेको थियो ।

बाँकेको कोरोना संक्रमित संख्या १ हजार ३ सय ६३ पुगेकोछ । बिहीबार बेलुकासम्म ९ सय ५१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ४ सय ४ जना उपचाररत रहेका छन् । यस्तै हालसम्म बाँकेमा ८ जनाको मृत्यु भइसकेको छ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका ५ जना रहेकाछन् ।