नेपालगन्ज : देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ ।
यसरी मृत्यु हुनेमा १० जिल्लाका ३ महिला र ११ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साका ७८ वर्षीया महिला, काठमाडौंका ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
यस्तै भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीया महिला, स्याङजाका ८५, गोरखाका ४५, कास्कीका ५१, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार र शुक्रबार ५–५ जना र बुधबार र मंगलबार ६–६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।