देशभर २४ जना भेन्टिलेटर र १६० जनाको आईसीयूमा राखेर उपचार हुँदै, ३३६ जनाको मृत्यु
नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएकोछ । देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको १० हजार १ सय ७६ पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
योसगैं नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार शनिबारसम्म देशभर १५ हजार २ सय ६० जना सक्रिय संक्रमितको रहेकाछन् ।
यस्तै देशभरबाट पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनाले कोरोना जितेर घर फर्केका छन् । देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट कोरोना जितेर फर्किएका यी ब्यक्ति सहित हालसम्म ३७ हजार ५ सय २४ जनाले कोरोना जितेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका बेला उनले यस्तो बताएका हुन् । उनका अनुसार योसहित देशभर डिस्चार्ज हुने दर ७० दशमलव ६ प्रतिशत रहेको छ ।
कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म देशभर ८ लाख ३१ हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै देशभरका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना र होम आइसोलेसनमा ६ हजार १ सय ५३ जना कोरोना संक्रमित रहेका छन् । भने शनिबारसम्म देशभर कुल ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ ।
यसैगरि देशभर २४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने देशभर १ सय ६० जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मन्त्रालयका अनुसार वितेको २४ घण्टामा देशभर थप १४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ३ सय ३६ पुगेको छ ।