नेपालगन्ज : लामखुट्टेको टोकाईबाट सर्ने रोग हात्तीपाईलेबाट बच्न औषधी खुवाइदैछ । बाँकेमा यसबर्ष पनि यहि फागुन १५ गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन लागिएको हो ।
नवौं चरणमा खुवाउन लागिएको औषधी यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने छन् । १५ गते हरेक वडामा तोकिएका बुथमा गई औषधी खानुपर्नेछ । बुथमा आएर खान छुटेकालाई १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधी खुवाइने योजना रहेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमलेबताए ।
यसअघि महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधी खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधी खुवाउने रणनीति अघि सारिएकोछ । बाँकेमा ५ लाख ८८ हजार २७८ जनालाई औषधी खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिने स्वास्थ्य शाखा प्रमुख गौतमले बताए ।
त्यस्तै स्वास्थ्यकर्मीलाई सघाउन जिल्लाका ७ सय ८९ महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् । स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौं चरणसम्म औषधी खुवाउँदा अपेक्षित उपलब्धी हाँसिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधी खुवाउँदा स्थानीयहरु विश्वस्त हुने अवस्था देखेर नयाँ रणनीति अपनाइएको बताइन् । औषधी खाँदा हुने समस्या औषधीका कारण नभई मानिसको शरीरमा हुने किटाणुका कारण भएको उनले बताइन् ।
हात्तीपाइले निवारणका लागि गरिएको अभियानमा आम औषधी सेवन बारे गलत धारणा, शहरी क्षेत्रमा औषधी सेवन प्रगती न्यून हुनु, लगाएतका चुनौतीहरुको सामना गर्नुपरेको उनले बताइन । बाँकेमा पाँच लाख ८८ हजार २ सय ७८ जनसंङख्या रहेकोमा करिब १३ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको स्वास्थ्य शाखाले जनाएकोछ । क्युलेक्स क्यांकिफेसिएटस नामक लामखुट्टेले यो रोग सार्ने गर्छ ।
रोग निवारणका लागि डिइसी र अल्बेन्डाजोल नामक औषधी खुवाइँदै आएको छ । दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधी निर्धक्क सेवन गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यो औषधीले कुनै पनि नकारात्मक असर नगर्नेसमेत स्वास्थ्यकर्मी जोडदिन्छन्।