देशभर थप १२४३ जनाले कोरोना जिते

३९ संक्रमित भेन्टिलेटर र १८२ जनाको आईसीयूमा राखेर उपचार हुँदै, कुल मृतक संख्या ३८३ पुग्यो


देशभर थप १२४३ जनाले कोरोना जिते

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण हुदाँ यी ब्यक्तिमा संक्रमण देखिएको हो । जसमा बिहीबारसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । भने देशभर बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभरका संस्थागत आइसोलेसन ७ हजार ९ सय ३ जना र होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन् । बिहीबारसम्म देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने देशभर १ सय ८२ जना विभिन्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार ४ जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ ।