डा.गोबिन्द केसीको स्वास्थ्य बिग्रियो

स्लाईन लगाउन मानेनन,छाति दुख्ने समस्या बढ्यो


डा.गोबिन्द केसीको स्वास्थ्य बिग्रियो

 
 
 
नेपालगन्ज : जुम्लामा अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । अनशन बसेको आज छैंटौं दिन हो । 
गत भाद्र २९ गतेदेखि अनशनरत डा.केसीको चिकित्सा शिक्षा सुधारकालागि शुरु गरेको यो  १९ औं अनशन हो । जुम्लास्थित चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा उनी अनशन बसिरहेका छन् । अनशन बसेको चौथो दिनमै स्वास्थ्य अवस्था बिग्रिए पनि उनले  नसाबाट स्लाइन लगाउन मानेका छैनन् । 
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविन गिरीका अनुसार, प्रतिष्ठानको टोली डा. केसीको स्वास्थ्य अवस्था जाँच गर्न अनशनस्थल पुगेपनि स्लाइन लगाउन दिएनन् । रगतमा चिनी (सुगर)को मात्रा लगायत अन्य पनि जाँच गर्न मानेका छैनन् ।
 
 डा. केसीको मुटुको चाल बढेको र मांशपेशी बाउँडिने समस्या देखिएको छ । छाति दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या पनि बढेको डा.गिरीले जानकारी दिए । पिसावको मात्रामा कमी आइरहेको छ । रक्तचाप पनि न्युन छ ।
 
 के छन् ,माग ?
 
 कर्णाली प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन् । प्रधानमन्त्री केपी ओली सरकारसँग २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग डा. केसीको छ ।
 
              मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउने एजेण्डासहित उनी अनशन बस्दै आएका छन् । सास रहुञ्जेलसम्म लडिरहने संकल्प लिएका डा. केसी मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन । 

 

Kids Festival 2022
kanti aarogya hospital