भेरीमा कोभिड–१९ जाँच पुनः शुरु, शनिबार थप १५ जनामा कोरोना पुष्टि


भेरीमा कोभिड–१९ जाँच पुनः शुरु, शनिबार थप १५ जनामा कोरोना पुष्टि

नेपालगन्ज : पीसिआर किट अभावमा कोभिड–१९ परीक्षण बन्द रहेको भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पुनः परीक्षण सुरु भएकोछ । प्रादेशिक अस्पताल वीरेन्द्रनगर, सुर्खेतबाट पीसिआर किट साप ल्याएर भेरी अस्पताल नेपालगन्जले परीक्षण सुरु गरेको हो ।

भेरी अस्पताल नेपालगन्जले पुनः पीसिआर परीक्षण सुरु गरेपछि थप १५ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पीसिआर किट सकिएपछि केहि दिनदेखि भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा अत्यावश्यकबाहेकका कोरोना परीक्षण बन्द रहेको थियो ।

अस्पतालका मेसु डाक्टर प्रकाश थापा आफै सुर्खेत पुगेर प्रादेशिक अस्पताल वीरेन्द्रनगर सुर्खेतबाट २ सय ७० वटा पीसिआर किट सापटमा ल्याएपछि कोरोना परीक्षण सुरु गरेको भेरीले शनिबार बिहान सार्वजनिक गरेको कोरोना सम्बन्धि रिर्पोटमा थप १५ जनामा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो ४८ घण्टामा गरिएका १ सय ५० नमुना परीक्षणमा १५ जना संक्रमित थपिएका हुन् ।

शनिबार थपिएका मध्ये अधिकांश संक्रमितहरु बाँकेका छन् । शनिबार बाँकेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । योसगैं बाँकेमा कुल कोरोना भाइरस संक्रमित संख्या १ हजार ५ सय ५६ पुगेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट शनिबार ९ महिला र ६ पुरुष गरि १५ जना संक्रमित भेटिएका हुन् । जसमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का ३४, ३५ र ५६ वर्षिय महिला, वडा नम्बर १३ का ३० वर्षिय पुरुष, वडा नम्बर ४ का ३६ वर्षिय पुरुष र वडा नम्बर १० का २६ वर्षिय महिलामा कोरोना देखिएकोछ ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर ३ का ३० वर्षिय पुरुष र ठेगाना नखुलेका कोहलपुर नगरपालिकाका २१ वर्षिय महिलामा संक्रमण देखिएकोछ ।

त्यसैगरी बाँसगढी नगरपालिका–४, बर्दियाका ४२ वर्षिय पुरुष, वडा नम्बर– ६ का १९ वर्षिय युवतिमा संक्रमण देखिएकोछ । भने बारबर्दिया नगरपालिका वडा नम्बर ६ का ५२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।

यस्तै तुलसीपुर–६ दाङका २६ वर्षिय महिला र वडा नम्बर ७ का २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

यसैगरी कैलालीका २१ वर्षिय महिला र उच्च अदालत तुलसीपुर ईजलास नेपालगन्जका ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोटमा उल्लेख छ ।

भेरीको उक्त रिर्पोटमा हालसम्म ३९ हजार ३ सय ७६ स्वाब संकलन भएकोमा ३९ हजार ३ सय ५० वटा परीक्षण हुदाँ २ हजार १ सय ३९ जनामा कोरोना संक्रमण देखिएकोछ ।

बाँकेमा हालसम्म ५ पुरुष र ४ महिला गरि ९ जनाको मृत्यु भएकोछ । जसमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ६ जनाको ज्यान गइसकेकोछ ।

यसैबीच बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेमा शनिवार थप ११ जना कोरोना मुक्त भएकाछन् । बाँकेका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरबाट १४ दिने अवधि पुरा गरि उनीहरु डिस्चार्ज भएका हुन् ।

गत भदौं २० गते कोरोना पुष्टि भएका ११ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले भने–‘योसँगै बाँकेमा कोरोना मुक्त भई घर फर्किनेको संख्या १ हजार २ सय ३ पुगेको छ । हाल ३ सय ३५ जना आइसोलेशनमा उपचाररत छन् ।’