मध्यरातमा  डा. गोविन्द केसीलाई  अस्पताल लगियो   

 डा. केसीले आक्रोशित हुँदै भने, ‘जर्बजस्ति गर्ने ? उपचार लिन्न !’


 मध्यरातमा  डा. गोविन्द केसीलाई  अस्पताल लगियो   

जुम्लामा अनशनरत डा. गोविन्द केसी । अनशनस्थलबाट प्रहरीले जर्वजस्ती उठाएर अस्ताल लगेको छ ।

 
काठमाण्डौं : जुम्लास्थित बाबिरामष्ट मन्दिरमा अनशनरत डा. गोविन्द केसीले अनशनस्थलबाट प्रहरीले अपहरण शैलीमा जर्वजस्ती उठाएकोमा आक्रोश व्यक्त गरेका छन् ।
 
६० वर्षीय केसीको स्वास्थ्य नाजुक भएपछि प्रहरीले शनिवार राती पौने ११ बजे जर्वजस्ती उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । अस्पतालको शैयामा रहेका डा. केसीले आक्रोशित हुँदै भने, ‘माग पुरा गर्नुकोसाटो जर्वजस्ती अपहरण शैलीमा अस्पताल ल्याउने ? जस्तो सुकै उपचार गरे पनि लिंदै लिन्न ।’ डा. केसी अनशन बसेको आज सातौं दिन हो । 
 
गत भाद्र २९ गतेदेखि अनशनरत डा. केसीको चिकित्सा शिक्षा सुधारकालागि शुरु गरेको यो  १९ औं अनशन हो । जुम्लास्थित चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा उनी अनशन बसिरहेका थिए । अनशन बसेको सातौं दिनमा स्वास्थ्य अवस्था बिग्रिए पनि उनले  नसाबाट स्लाइन लगाउन मानेका छैनन् । 
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविन गिरीका अनुसार, रगतमा चिनी (सुगर)को मात्रा लगायत अन्य पनि जाँच गर्न मानेका छैनन् ।
डा. केसीको मुटुको चाल बढेको र मांशपेशी बाउँडिने समस्या देखिएको छ । छाति दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या पनि बढेको डा. गिरीले जानकारी दिए । पिसावको मात्रामा कमी आइरहेको छ । रक्तचाप पनि न्युन छ । 
 
मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउने एजेण्डासहित उनी अनशन बस्दै आएका छन् । सास रहुञ्जेलसम्म लडिरहने संकल्प लिएका डा. केसी मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका थिए । अहिले प्रहरीले उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेपछि उनी आक्रोशित भएका हुन ।
 
 
Kids Festival 2022
kanti aarogya hospital
add