कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगन्ज कारागारका कैदी दमका विरामी थिए

राष्ट्रिय मानव अधिकार आयोगले कारागारको अनुगमन गर्ने


कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगन्ज कारागारका कैदी दमका विरामी थिए

नेपालगन्ज : एकदिनको अन्तरालमा नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । यसअघि शनिबार राती नेपागन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाका ५९ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

दुवै फोक्सोको निमोनियाका काराण कोरोना संक्रमित ती पुरुषको भेरी अस्पताल नेपालगन्जको कोरोना विशेष आइसोलेसन अस्पतालमा शनिबार राती साढे ११ बजे मृत्यु भएको हो । उनको मृत्यु भएको ठिक एकदिन पछि सोमबार(आज) नेपालगन्ज कारागारमा रहेका एक कैदीको मृत्यु भएकोछ ।

सुर्खेत गुर्भाकोट–४ का ५८ वर्षीय ती कैदीको भेरी अस्पताल नेपालगन्जमा सोमवार विहान सवा ६ बजे मृत्यु भयो । योसगैं बाँकेमा कोरोना संक्रमित मृतक संख्या ११ पुग्यो जसमा नेपालगन्ज उपमहानगरपालिकामा मात्रै मृतकको संख्या ८ पुगेकोछ ।

पुरानो दमका विरामी रहेका ती पुरुष कैदीको श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कर्तव्य ज्यान मद्दामा सजाय काटीरहेका उनको भदौ २१ गते स्वाव लिइएको थियो । त्यही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । २२ गते भर्ना भएका ती कैदीलाई बचाउन हाइड्रो अक्सिजन÷सीपीएपी बाट उपचार गरिनुका साथै रोगको प्रकृतिअनुसार गरिनुपर्ने सम्पूर्ण उपचार गरिएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि सोमबार विहान ६ बजेर २५ मिनेटमा मृत्यु भयो ।

पुरानो दमका रोगी समेत भएका कारण कोभिड–१९ले बढि असर गर्दा उनको समयमा स्वास्थ्य सुधार हुनसकेन जसका कारण उनको मृत्यु हुन गएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

यसरी हेर्दा बाँकेमा हालसम्म मृत्यु हुनेहरुमा दुवै फोक्सोको निमोनियाका कारण मृत्यु भएको देखिन्छ । बाँकेको नरैनापुर गाउँपालिकाका मृतक युवा बाहेक अन्यको मृत्यु अवस्था दुवै फोक्सोको निमोनिया भएर स्वास्थ्य अवस्था जटिल बनेपछि मृत्यु भएको बाँकेको कोरोना रिर्पोटले देखाएकोछ ।

नेपालगन्ज कारागारमा कैद भुक्तानका लागि ल्याइएका ती कैदीको बाँकेमै उपचारका क्रममा मृत्यु भएपछि उनको गणना बाँकेमै गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यसअघि बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । जसमा बर्दिया, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ५ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमित मृतकको तथ्यांकलाई हेर्दा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाका ब्यक्तिको मृत्यु भइसकेकोछ । जसमा नरैनापुरका एक युवा जिल्लाका पहिलो कोरोना संक्रमणबाट ज्यान गुमाउने हुन भने जिल्लामै धेरै संक्रमितले ज्यान गुमाउनेको संख्या नेपालगन्ज उपमहानगरपालिकामा रहेकोछ ।

राष्ट्रिय मानव अधिकार आयोगले कारागारको अनुगमन गर्ने

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको आयोगको भनाइ छ । अनुगमन टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सह–सचिव तथा अधिकृतहरुको सहभागिता रहने जनाइएको छ ।

कारागारमा रहेका कैदी बन्दीहरुको आधारभूत अधिकारसहित बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति समवेदनशील हुन आयोगले नेपाल सरकार लगायत सम्बद्घ निकायको ध्यानाकर्षण गराउँदै आएको पनि आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वाेच्च अदालतबाट कोभिड–१९ को महामारीको परिप्रेक्ष्यमा २०७७ वैशाख १७ गते जारी अन्तरिम आदेशमा फौज्दारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा २२, २४ २५, २६, २७, २८, २९, ३०, ३१ र ४९ को व्यवस्था कार्यान्वयनमा ल्याई कारागारहरुको व्यवस्थामा सुधार गर्ने प्रयोजनका लागि ऐन बमोजिम नेपाल राजपत्रमा ७ दिन भित्र सूचना प्रकाशित गरी उल्लेखित व्यवस्था कार्यान्वयनको प्रकृया प्रारम्भ गर्न, सोही ऐनको दफा ३७ तथा कारागार नियमावली २०२० को नियम २९ बमोजिम कैद सजाय छुटहुन सक्ने व्यवस्थालाई विना भेदभाव कार्यान्वयन गर्न भएको आदेशको कार्यान्वयनमा पनि आयोगले जोड दिएको छ ।