काठमाण्डौं जान नेपालगन्ज आइपुगेका डाक्टर केसी भेरी अस्पतालमा भर्ना


काठमाण्डौं जान नेपालगन्ज आइपुगेका डाक्टर केसी भेरी अस्पतालमा भर्ना

भेरी अस्पताल नेपालगन्जमा उपचाररत डाक्टर गोविन्द केसी ।

नेपालगन्ज : काठमाडौं गएर अनसनलाई निरन्तरता दिने भन्दै जुम्लाबाट नेपालगन्ज आइपुगेका डाक्टर गोविन्द केसी भेरी अस्पताल भर्ना भएकाछन् । आठ दिनदेखि जुम्लामा अनसनरत डाक्टर केसी काठमाडौं जाने क्रममा सोमबार बेलुका नेपालगन्ज आइपुगेका हुन् ।

डाक्टर केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आउन सक्ने भन्दै चिकित्सकले जति सक्यो चाँडो जाँच तथा उपचारमा सहज हुने स्थानमा स्थानान्तरण गर्न सुझाव दिएपछि भेरी अस्पताल नेपालगन्जमा राखिएको हो ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डाक्टर प्रकाश थापाले डाक्टर केसी आज भेरीमै बस्ने जानकारी दिदै अनसनमै रहेका डाक्टर केसीलाई छुट्टै क्याविनको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार डाक्टर भोली(मङ्गलबार) काठमाण्डौं जानेछन् । अनसनरत डाक्टर केसी भेरी अस्पताल आएपछि उनको समर्थनमा अस्पतालको गेटमा दीप प्रज्वलन गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

डाक्टर केसीले गत भदौं २९ गतेबाट अनसन सुरु गरेका हुन् । भेरी अस्पतालमा उपचाररत डाक्टर केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने भन्दै उपचारका लागि भर्ना गरिएको हो ।

जुम्लाबाट नेपालगन्ज आउनेक्रममा डाक्टर केसीले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै ‘दुई वर्ष अगाडी हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसैखालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उतैबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ ।’

उक्त विज्ञप्ती मार्फत डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गनुपर्ने, प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र ईलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग राखि पछिल्लो ८ दिनदेखि डाक्टर केसी अनसनमा छन् ।