१५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन नहुने


१५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन नहुने

गत वर्ष रामलीला मञ्चन गर्नुपूर्व सजाइएको रामलीला मैदान । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज : प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन यस वर्ष नहुने भएकोछ । पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएकोछ ।

रामलीला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित गरेको हो । १ सय ५३ औं वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई यसपटक सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजापाठ गरिने रामलीला सञ्चालक समितिले जनाएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १३ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भब्य र सभ्यरुपमा मनाइदै आएको थियो । जहाँ भारत तथा नेपालका कलाकारहरुले रामलीला मञ्चन गर्दै आएका थिए ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएकोछ । रामलीला सञ्चालक समितिका कार्यबाहक अध्यक्ष सन्तोषकुमार कनोडीयाको अध्यक्षतामा बसेको साधारणसभा बैठकले कोरोना भाइरस संक्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको रामलीला मञ्चन नगर्ने निर्णय गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच संरक्षक जैनेन्द्रकुमार टण्डन लगायतको उपस्थितीमा बैठकले रामलीला सञ्चालक समितिको पुनगर्ठन गर्दै उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष सन्तोषकुमार कनोडीयालाई अध्यक्षमा मनोनीत गरेको छ । अध्यक्ष श्याम सुन्दर कनोडीयाको केही दिनअघि निधन भएपछि उपाध्यक्ष कनोडीयालाई सो पदमा चयन गरिएको हो ।

सभाले विषम परिस्थितीबीच अन्य कार्यक्रम सञ्चालनबारे आवश्यक अध्यन गर्न सात सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलले सात दिनभित्र रामलीला मञ्चन बाहेकको कार्यक्रम स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्ने सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यले बताए ।

विष्णुलाल कुमालको संयोजकत्वमा गठित कार्यदलमा आनन्दबहादुर कर्माचार्य, नन्दलाल वैश्य, भरत किशोर वैश्य, सुरेन्द्रकुमार वैश्य, रमेश चन्द्र प्रजापति र प्रभाकर भट्टराई सदस्य रहेका छन् । सभाले वैंक खाता सञ्चालन, शोक प्रस्ताव लगायतका निर्णय गरेको छ ।