झापा कारागारमा कोरोना : कैदीबन्दी त्रसित


झापा कारागारमा कोरोना :  कैदीबन्दी त्रसित

झापा : झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन्।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ । गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।

‘कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ’, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने,‘राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौँ ।’

उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा एक हजार १४३ कैदीबन्दी रहेको बताए । कारागारको क्षमता ३५० मात्र हो । पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको, कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो गरे ।

अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरे । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कैदीबन्दीमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकाले सर्वोच्च अदालतले गत महिना दिएको आदेशअनुसार सरकारले कारागारमा कैदीबन्दीको चाप घटाउनु पर्ने उनको धारणा छ । ‘हामी पनि राज्यका नागरिक नै हौँ’, सङ्क्रमणका बेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको दाबी गर्दै पोखरेलले भने ।

Kids Festival 2022
kanti aarogya hospital

झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास (दम)का १००, टिबीका २०, किड्नीका आठ, मुटुका १२ , मानसिक बिरामीका ३५, एचआइभीका चार, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन् ।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको जनाउँदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्यधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने बताए । उनले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे बताए । -रासस