होम आइसोलेसनमा बस्नु खतरा


होम आइसोलेसनमा बस्नु खतरा

नेपालगन्ज : कोरोना पोजेटिभ देखिसकेपछि होम आइसोलेसनमा बस्नु खतरा देखिएकोछ । होम आइसोलेसनमा कुनै स्वास्थ्य सुविधा नहुने भएकाले यो विधि कोरोना पोजेटिभका लागि खतरा देखिएको हो ।

कोरोना पोजेटिभ भइ होम आइसोलेसनमा बसेका बर्दिया बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद अग्रवालको मृत्युले होम आइसोलेसनमा बस्नु खतरा रहेको पुष्टि गरेकोछ ।

यहि असोज ७ गते कोरोना पोजेटिभ देखिसकेपछि होम आइसोलसनमा रहेका अग्रवालको स्वास्थ्य स्थिती गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज भित्र पुर्याउन नपाउँदै असोज १० गते शनिबार दिउँसो अस्पताल प्राङ्गणमै मृत्यु हुन पुग्यो ।

सरकारले कोरोना पोजेटिभ देखिएका तर लक्षण नदेखिएकाहरु होम आइसोलेसनमा बस्न सक्ने ब्यवस्था ल्याएकोछ । यो ब्यवस्था कोरोना विरामीहरुका लागि घातक सावित भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

चिकित्सकहरुले कोरोना पोजेटिभ देखिएका विरामी चिकित्सक अथवा स्वास्थ्यकर्मीको निगरानीमा बस्नु उपयुक्त हुने बताउँछन् । कोरोना पोजेटिभ भइसकेपछि लक्षणहरु एक्कासी देखिन सक्ने र रातभरीमै स्थिती गम्भीर हुन सक्ने भएकाले सकेसम्म अस्पतालमै रहनु उपयुक्त रहेको कोरोना उपचारमा संलग्न चिकित्सकहरुको सुझाव छ ।

नेपालगन्जमा पनि होम आइसोलेसनको नियम लागु गरिएको छ । विगत ४ दिन अघिदेखि लक्षण नदेखिएका विरामीलाई वडाअध्यक्षको सिफारिसमा घरमै बस्न सक्ने निर्णय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले गरेकोछ ।

केही साता अघि नेपालगन्ज उपमहानगरपालिकाका स्टोर किपर युवराज घलेको पनि न्यू ईन्द्रेणी होटलको आइसोलेसनमा बसेपछि गम्भीर भएर अस्पताल पुग्दा मृत्यु हुन पुगेको थियो ।