देशभर एक हजार ५७३ कोरोना संक्रमित थपिए


देशभर एक हजार ५७३ कोरोना संक्रमित थपिए

नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १ सय २३ नमुना जाँच मध्ये यी ब्यक्तिमा कोरोना देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । भने देशभर आईतबारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रबाट थप ८८५ जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म ५३ हजार ८ सय ९८ जना डिस्चार्ज भएका छन् । भने हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार आईतबारसम्म देशभर ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसअघि शनिबार देशभर एक हजार २ सय ७ जनामा कोरोना संक्रमण पाइएको थियो । सो अवधिमा एक हजार एक सय ४७ जना डिस्चार्ज भएका थिए । भने शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा ज्यान गुमाउनेहरुमा बाराका २०, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२, बर्दियाका ६३ र ५०, अछामका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।