भेरीमा थप बेडसहितको आइसोलेसन निर्माणका लागि ४ करोड


भेरीमा थप बेडसहितको आइसोलेसन निर्माणका लागि ४ करोड

नेपालगन्ज : जिल्ला समन्वय समितिमा रहेको ४ करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गरिने भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढेको र आवश्यकताअनुसार आइसोलेसन तथा यसका लागि बजेट अभाव देखिएकाले मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यस्तो निर्णयसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहाद्र कुरुम्वाङ नेतृत्वको टोलीले अस्तालमा थप बेडसहितको आइसोलेसनको सम्भाव्यता बारे अवलोकन समेत गरेको छ ।

उक्त टोलीमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगन्जका इन्जीनीयर विजय केशर खनाल लगायतको टोलीले भेरी अस्पतालको सम्भाव्यता बारे अवलोकन गरेको थियो ।

केहि दिनअघि मन्त्रिपरिषद् वैठकले जिल्ला सममन्वय समिति बाँकेमा रहेको ४ करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरिसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसबीच बढ्दो कोरोना संक्रमितको सहज र प्रभावकारी उपचारका लागि भेरी अस्पतालमै थप बेडसहितको आइसोलेसन सञ्चालन गर्नेमा सम्बद्ध सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्वाद समूह बाँकेको संयोजनमा कोरोनाको बढ्दो संक्रमण, सहज र प्रभावकारी उपचार तथा आइसोलेसनको आवश्यक्ताका सन्दर्भमा आयोजित अन्तरसम्वादमा सरोकारवालाले सामुहिक प्रतिबद्धता गरेका हुन् ।

भेरी अस्पतालमा अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भीर विरामीहरुको संख्या बढ्दै गएपछि थप आइसोलेसन सहितको सेवा अनिवार्य देखिएको हो ।

भेन्टीलेटरसहितको सुविधायुक्त आइसोलेसन व्यवस्थापन तथा सञ्चालनको माग बढ्दै गइरहेका बेला सार्वजनिक सरोकारका सावालमा क्रियाशिल समूहले सरोकारवालाबीच थप समन्वय र सहकार्यका लागि सम्वाद सहजिकरण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको विशेष उपस्थितीमा जनप्रतिनीधी, चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाबीच कोरोना संक्रमितको प्रभावकारी उपचारका लागि गर्न सकिने पहल बारे अन्तरसम्वाद गरिएको थियो ।

कार्यक्रममा सहभागी सम्बद्ध विज्ञले बाँकेमा दैनिक ३०जनामा (औसतमा) कोरोना पोजेटिभ देखिइरहेको स्थितीमा अब थप संक्रमितलाई राख्न सक्ने अवस्था नभएको भन्दै तत्काल भेरी अस्पतालमै थप बेड व्यवस्थापननै सर्वोत्तम विकल्प भएको औल्याए ।

भेरी अस्पताल कोरोना विशेष अस्पतालका कोभिड–१९ कमाण्डर डाक्टर श्यामसुन्दर यादवले भेरी अस्पताल भित्रै थप आइशोलेशन सञ्चालन गर्नु नै उत्तम हुने दाबी गर्दै थप बेड राख्न सकिने ठाउँ पनि रहेको खुलासा गरे । साथै उनले त्यसको व्यवस्थापनका लागि सामुहिक ईच्छा शक्तिको आवश्यक्ता पनि औल्याए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालभित्रै थप डेढ सय बेड राख्न सकिने स्थानहरुको व्यवस्थापनका लागि सहयोगको अपील गरे ।

बाँकेका प्रमख जिल्ला अधिकारी एवं जिल्ला कोभीड–१९ संकट व्यवस्थापन केन्द्र प्रमुख कुरुम्वाङले भेरी अस्पतालमै आइसोलेशन व्यवस्थापन र सञ्चालनको लागि हर सम्भव प्रयास गरिएको भन्दै सबै पक्षको सहयोगको खाँचो रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख उमा थापा मगरले आइसोलेसनको आवश्यक्तालाई मध्यनजर गरेर नीजी अस्पताल र होटेललाई पनि उपयोग गर्न सकिने बताइन् ।

भेरी अस्पतालको निर्माणाधिन ५ तले भवनमै आइसोलसन सञ्चालन गर्ने की भन्ने वहस भइरहेका बेला शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगन्जका इन्जीनीयर होमनाथ भुषालले भवन निर्माणको कार्य जारी रहेकाले प्राविधिकीय मापदण्डमा अबरोध हुने भएकाले तत्काल नयाँ भवनमा भने सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारे ।

भेरी अस्पतालका निमित्त मेसु डाक्टर सुमन अर्यालले कोरोना उपचार गर्दा अन्य सेवा प्रभावित नहोस् भन्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका वरिष्ठ स्वास्थ्य प्रशासक धिरजंग शाहले कोरोनाबाट संक्रमित हुनै नदिनेतर्फ सचेतना बढाउनु पर्ने सुझाए । खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले स्थानीय तहमा पनि कोरोनो विशेष अष्पतालको आवश्यक्ता औल्याइन । 

नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेश कनोडीयाले सीमित स्रोत साधनका बाबजुद कोरोना संक्रमितको उपचार गरिदै आईएको र थप आवश्यक सहकार्यका लागि पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी प्रमुख ओम राना, विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायतले आइसोलेसन सञ्चालनका लागि सबैको सामुहिक सहकार्यमा जोड दिएका थिए ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्तऋषि चौलागाईद्वारा सहजिकरण गरिएको कार्यक्रमको उद्देश्यमाथि समूहका सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पारेका थिए ।