नेपालगन्ज : सामाजिक सञ्जाल फेसबुकमा चर्चित ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले २ महिनाकी बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाएकोछ । नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा उपचाररत निमोनिया पीडित २ महिनाकी बालिका आरुषी थारुको उपचारका लागि नेपालगन्ज ग्यालरीले सहयोगको अपील गरेको थियो ।
सहयोग अपील गरेपछि संकलन भएको ६५ हजार ९ सय ३० रुपैयाँ सोमबार बालिकाको बुवा खुशीराम थारुलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियान तथा गतिविधि गर्दै आएको नेपालगन्ज ग्यालरीले पोष्ट गरेको सहयोग अपीलमा गुरुकुल बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण सञ्चालक सदस्य तथा कर्मचारीको तर्फबाट १५ हजार ७ सय ६०, ब्लड डोनेशन ग्रुप बाँकेका सदस्यहरूबाट १४ हजार, पूर्वमन्त्री तथा संघीय सांसद मोहम्मद ईस्तियाक राईको व्यक्तिगत तर्फबाट १० हजार, ओम साई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट १० हजार, नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालगन्ज इकाईबाट ५ हजार गरि ६५ हजार ९ सय ३० रुपैयाँ संकलन गरिएको ग्यालरिका परिकल्पनाकार तथा एडमिन समीरमान श्रेष्ठले जानकारी दिए ।
बर्दियाको बारबार्दिया नगरपालिका वडा नम्बर– ४ निवासी खुशीराम थारुको २ महिनाकी छोरी आरुषी थारु गत भदौ ३१ गते निमोनियाबाट ग्रसित भएर नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा उपचाररत छिन् ।
यो अवधिमा आर्थिक अवस्था कमजोर भएकै कारण छोरीको उपचारमा समस्या झेलेका खुशीरामले करिब एक लाख रुपैयाँ ऋणसापट गरेको बताए । आर्थिक अवस्था कमजोर रहेका खुशीरामलाई नेपालगन्ज ग्यालरीले जुटाएको सहयोगले छोरीको जिवन बचाउन सहयोग पुग्ने भन्दै सहयोगीदाताहरुलाई धन्यबाद दिए ।
नेपालगन्ज ग्यालरिका परिकल्पनाकार तथा एडमिन समीरमान श्रेष्ठका अनुसार खनाल होटलको फीड द हङ्गर अभियान तथा ग्यालरीका सदस्यहरू आयुष्मा शर्मा, सुप्रिया नेपाल, दिनेश सिंह, निलिमा कर्माचार्य, लक्ष्मी तिमिल्सेना, भूपाल चौधरी, ईन्द्र बहादुर थापा, सुस्मिता गुरुङ, पदम सुवेदी, राजन पौडेल, अमित कुमार कश्यप र सूर्य गौलीले ब्यक्तिगतरुपमा आर्थिक सहयोग गरेका थिए ।