बाँकेमा कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, स्थिती जटिल बन्दै


बाँकेमा कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, स्थिती जटिल बन्दै

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै जानु र संक्रमित ब्यक्तिको मृत्यु हुनेको संख्या बढ्दै गएपछि बाँकेमा कोरोना जटिल बन्दै गएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–७ का ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षका पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी समेत रहेका ती ३९ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ ३० गते कोरोना परीक्षणका लागि स्वाव संकलन गरि परीक्षण गर्दा भदौ ३१ गते आएको रिपोर्टमा पोजेटिभ पाइएको थियो । लगत्तै उनलाई कोहलपुर मेडिकल कलेजको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनलाई उच्च रक्तचापको समस्या थियो । उनको उपचारकै क्रममा विहान साढे तीन बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ भइ उपचार गराई रहेका उनको १४ दिनपछि मृत्यु भएको हो । यी पुरुषलाई प्लाज्मा थेरापी र रेम्डीसिभर दुवै विधि प्रयोग गरी उपचार गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै स्वास्थ्यमा समस्या भएपछि असोज ४ गते अस्पताल भर्ना भएका कोहलपुरका ५३ वर्षीय पुरुषको ६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । मधुमेहका विरामी समेत रहेका उनको उपचारकै क्रममा मङ्गलबार विहान सवा ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी कोहलपुरका शिक्षक रहेको खुलेको छ ।

कोरोना संक्रमण भएपछि दुवैजनाको फोक्सोमा निमोनिया भएपछि उपचारका क्रममा उनीहरुको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमा कोहलपुरमा २ जना, नेपालगन्जमा ११ जना, नरैनापुर र बैजनाथ गाउँपालिकामा एकएक जनाको मृत्यु भएकोछ ।