नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझीकी कोरोना संक्रमित ३५ वर्षिया महिलाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ विशेष अस्पतालमा उपचाररत ती ३५ वर्षिया महिलाको बुधबार दिउँसो सवा २ बजे मृत्यु भएको हो । योसगैं बाँकेमा कोरोना भाइरस संक्रमित ज्यान गुमाउनेको संख्या १६ पुगेकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार विगत केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्मको विरामी रहेकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि असोज २ गते भेरी अस्पताल नेपालगन्जको प्रि–आइसोलेसन वार्डमा राखि उपचार गरिएको थियो ।
उपचारका क्रममा असोज २ गते लिइएको स्वाब परीक्षण गर्दा असोज ३ गते आएको रिर्पोटमा ती महिलामा कोरोना पुष्टि भएको थियो । कोरोना पोजेटिभ ती महिलालाई कोभिड–१९ आइसोलेसन वार्डमा राखि उपचार गरिरहदाँ उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।
अस्पतालले विरामीको प्रकृतिअनुसार सम्पूर्ण उपचार पद्धती अपनाएर उपचार गर्दा गर्दै उनको मृत्यु भएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ । कोरोना संक्रमणबाट मृत्यु भएकी ती महिलाको शव ब्यवस्थापनका लागि समन्वय र तयारी भइरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।