कोरोना संक्रमित २५ वर्षिया युवती । तस्विरः पूर्ण ढकाल
नेपालगन्ज : कोरोना संक्रमण पुष्टि भएको १६ दिनपछि २५ वर्षिया युवतीको मृत्यु भएकोछ । कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँकी २५ वर्षिया युवतीको मृत्यु भएको हो । उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेमा अनुसार धनगढी उपमहानगरपालिका–२, सन्तोषीटोल स्थायी ठेगाना भएकी ती युवती विगत एक वर्षदेखि बाँकेगाँउमा डेरा गरि बस्दै आएकी थिइन ।
कोरोना संक्रमित आशंकामा गत भदौ ३० गते स्वाब परीक्षण गर्दा सोही दिन आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो. । स्वास्थ्यमा समस्या आएपछि उनलाई सोही दिन भेरी अस्पताल नेपालगन्जको आइसोलेसन वार्डमा भर्ना गरि उपचार गराइएको केन्द्रद्वारा जारी रिर्पोटमा उल्लेखछ ।
आइसोलेसनमा उपचाररत ती युवतीको स्वास्थ्यमा सुधार नआएपछि रेमडिसिभिर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि अवस्था विग्रदै गएपछि शुक्रबार विहान ११ बजेबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
केन्द्रद्वारा जारी रिर्पोट अनुसार युवतीको ज्यान बचाउन हरसम्भव प्रयास गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बेलुका ४ बजेर ४५ मिनेटमा दुवै साईडको फोक्सोको निमोनियाबाट मृत्यु भएको अस्पतालले जनाएकोछ । योसगैं बाँकेमा कोरोना संक्रमित १९ जनाको मृत्यु भएकोछ । यसअघि बिहीबार मात्रै बाँकेमा एक चिकित्सकसहित ३ जनाको मृत्यु भएको थियो ।