नेपालगन्ज : भेरी अस्पतालमै थप ७५ बेडसहितको आइसोलेसन सञ्चालन गर्ने तयारी गरिएको छ ।
बढ्दो कोरोना (कोभीड १९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सोकारवालासँग अन्तर सम्वाद गरेपछि भेन्टीलेटरसहितको सुविधायुक्त आइशोलेशन व्यवस्थापन तथा सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।
भेरी अस्पतालमा अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भीर विरामीहरुको संख्या बढ्दै गएपछि समूहले थप आइसोलेसनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सजिकरणमार्फत सहकार्यको प्रतिबद्धता सिर्जना गरेको हो ।
स्थानीय तह, स्वास्थ्य सम्वद्ध प्रमुखसहितको जिल्ला कोभीड– १९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भेरी अस्पतालमा ७५ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभीड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले एक हप्ता भित्र आवश्यक संरचना तयार गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी खजुरा गाउँपालिकाका प्रमुख किश्मत कुमार कक्षपतीका अनुसार उपभोक्ता समितिमार्फत एक करोडको बेड, भेन्टीलेटरसहितको आवश्यक संरचना तयार गरिने छ ।
आइसोलेसन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकस्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । आइसोलसनका सञ्चालनका लागि स्टोर गरिएका सरसामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पनि शुरु गरिसकिएको भेरी अस्पतालका कोभीड–१९ कमाण्डर डाक्टर श्याम सुन्दर यादवले जानकारी दिए ।
बाँकेमा दैनिक ३० जनामा (औसतमा) कोरोना पोजेटिभ देिखइरहेको स्थितीमा थप संक्रमितलाई राख्न सक्ने अवस्था नभएको भन्दै सम्बद्ध बिज्ञले यसअघि नै भेरी अस्पतालमै आइसोलेसन सञ्चालन गरिनुपर्ने सुझाएका थिए । कोरोना संक्रमणकै कारण अहिले सम्म बाँकेमा २६ जनाको ज्यान गइसकेको छ ।