नेपालगन्ज : कोरोना भाइरस संक्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । देशमा पछिल्लो समय कोरोना संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गर्दै ‘जहाँ छौं, त्यही दशैं मनाउन अपील गरेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसपालिको दशैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।
दशैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन् । कोरोना संक्रमणको अवस्था खराब बन्दै गएपछि विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन् ।
दशैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने भएपनि अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ । आईतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा कोारोना संक्रमण पुष्टि भएको छ । आईतबार देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन् ।