कोरोना प्रभाव : बन्द भो समुदायमा ऐंचोपैंचो !


कोरोना प्रभाव : बन्द भो समुदायमा ऐंचोपैंचो !

टीकापुर : कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐंचोपैंचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् ।

कैलालीको भजनी नगरपालिका २ का भागीरथ विकले आजभोलि छिमेकीसँग तरकारी ऐंचोपैंचो गरेर खान पनि छाडेको बताउँछिन् । ‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाहीं छाक टार्न सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘कोरोना भाइरस सङ्क्रमणको डरले बाँडीचुँडी खान पनि बन्द भयो । जीवन अलि अप्ठ्यारो भएको छ ।’

गाउँका एक घरमा कुनै चिज भए सबैको काम चल्ने चलन थियो । अहिले कोरोनाका कारण गाउँघरमा पैंचो लिने–दिनेमा आनाकानी गर्ने गरेको विशालनगर शिविर टीकापुरका जयसुर सार्की बताउँछन् । ‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ,’ उनले भने, ‘आजभोलि एक अर्काको घर आजजाउ नै बन्द छ । बाँडेर खाए त रोग सर्ला भन्ने डर छ ।’

टीकापुर ४ की रुबिना साउँदको २ वर्षीय छोरा छ । रुविना र उनीका छिमेकीको आँगन एउटै छ । सधैं छिमेकीको घरमै खेल्ने छोराले रुबिनालाई निकै पिरोलेको छ । रुविनाका पति जागिरे छन् । ‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिएकी छैन, उनीहरुले तिम्रो श्रीमान् घरबाहिर निस्कन्छन्, जोखिम छ यहाँ नआऊ भन्छन्,’ रुबिना भन्छिन्, ‘ठीकै हो, अरुलाई किन जोखिममा पार्नु ? तर बच्चाले मानेको छैन । आँगनमा बार लगाएर बच्चा रोकेकी छु । बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो ।’

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय कोभिड १९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्रसित हुन थालेका बताइएको छ । यो सँगै गाउँघरमा मानिसहरु वल्लोपल्लो घर आउजाउ गर्ने आनीबानीमा पनि कमी आएको जानकी गाउँपालिका ५ की कलावती चौधरीले बताइन् । ‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो,’ उनले भनिन्, ‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न ।’ गाउँघरमा आफन्तबीच भेटघाट हुने, भलाकुसारी गरिने र दुःखसुख बाँड्ने चलन पनि हराउँदै गएको छ । –रासस