नेपालगन्ज : नेपालमा थप दुई हजार ४४० कोरोना संक्रमित फेला परेका छन् । योसगैं कोरोना संक्रमित कुल संख्या संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४० संक्रमित थपिएका हुन् । सोमबार बेलुकासम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेका छन् ।
मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १३३ जना डिस्चार्ज भएका छन् । भने हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी देशभरका संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेका छन् । भने ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । त्यसैगरी देशभर २४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ । मन्त्रालयका अनुसार आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितमध्ये काठमाडौंका मात्रै ९ जनाको मृत्यु भएकोछ । ६ पुरुष र ३ महिला गरी थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंका ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको हो ।
यस्तै मन्त्रालयका अनुसार सुनसरीका ५५ वर्षीय पुरुष, पर्साका ६५ वर्षीया महिला, सर्लाहीका ४२ र ६९ वर्षीय पुरुष, ललितपुरका ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीया महिला र नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसअघि आईतबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।