नेपालगन्ज : कोरोना भाइरसका थप एक हजार ५५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । भने देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको पुगेको मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत दुई हजार ३४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । भने हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । मङ्गलबारसम्म देशभर कुल १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । मङ्गलबारसम्म देशभर ४ हजार २२१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । भने २४३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यस्तै देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार यसरी मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४ वर्षिय, ललितपुरका ६१, ७७ वर्षिय, नवलपरासी पूर्वका ७७ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी, काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ ।