नेपालगन्ज : बाँके जिल्लामा उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार दाङ्ग घोराही उपमहानगरपालिका वडा नम्बर– १५ निवासी ३५ वर्षिया महिलाको मृत्यु भएको हो । यो संगै बाँके जिल्लामा उपचारका लागि आएका कोरोना संक्रमित मृतक संख्या १० पुगेकोछ ।
गत असोज १८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचारका लागि आएकी ३५ वर्षिया महिलालाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि सोही दिन राती पौने १२ बजे भेरी अस्पताल नेपालगन्ज ल्याएर उपचार गरिएको थियो ।
रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण पद्धतीमा उपचार गर्दागर्दै ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि आज बुधबार दिउँसो ३ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएकोछ ।
कोरोना पोजेटिभ पाइएकी ती महिलाको दुवैतर्फको फोक्सोको निमोनियाका कारण मृत्यु भएको जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ । यसबीच बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा बसेका ११ महिला र २५ पुरुष गरि ३६ जना डिस्चार्ज भएकाछन् । यो संगै बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार ७ सय ९ पुगेकोछ ।