नेपालगन्ज : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेकोछ । पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि सक्रिय संक्रमित संख्या २५ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परीक्षणका क्रममा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बुधबार १४ हजार २ सय ९ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना देखिएको हो । बुधबारसम्म ११ लाख हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । धबारसम्म देशभर ४ हजार १५९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
नेपालमा एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङका ४० र ६० वर्षीय पुरुष, सिराहाका ५० वर्षीया महिला, रौतहटका ७२ वर्षीया महिला, ललितपुरका ४६, चितवनका ६१, रुपन्देहीका ५५, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङका ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
होला त लकडाउन ?
सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ भन्दै गत असोज ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले निष्कर्ष निकालेको थियो । त्यसबेला सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो । तर, संक्रमण दर बढिरहेको थियो र दैनिक थपिने संक्रमितहरुको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको थियो ।
सक्रिय संक्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले फेरि लकडाउन गर्नुपर्ने ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को निष्कर्ष थियो । त्यसैले, मन्त्रालयले देशभर सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो ।
मन्त्रालयले यस्तो सिफारिस गरेको दुई सातापछि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ । मन्त्रालयका अनुसार बुधबार देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
चैत १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दियो । सोहीअनुसार साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा निषेधाज्ञा जारी भयो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिएको छ भनेर तथ्यांक संलन भएको र त्यो विवरण प्राप्त भएपछि अस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने बताए । ‘अस्पतालको क्षमताले भ्याएसम्म लकडाउन गर्दैनौं । अन्यथा त गर्नैपर्ने हुन्छ’ उनले भने ।