बाँकेमा एकैदिन दुई कोरोना संक्रमित महिलाको मृत्यु


बाँकेमा एकैदिन दुई कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज : बाँकेमा एकैदिन कोरोना संक्रमित दुई महिलाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एकएक जना महिलाको मृत्यु भएको हो ।

यो सगैं बाँके जिल्लामा आएर उपचारका क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेकोछ । भेरी अस्पताल नेपालगन्जमा दाङ्गकी ३५ वर्षिया महिला र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सुर्खेतकी ८२ वर्षिया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

केन्द्रका अनुसार दाङ्ग घोराही उपमहानगरपालिका वडा नम्बर– १५ निवासी ३५ वर्षिया महिलाको बुधबार दिउँसो पौने १२ बजे मृत्यु भएको हो । भने विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षिया महिलाको बेलुका ६ बजेर ३५ मिनेटमा मृत्य भएको हो ।

गत असोज १८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएकी ३५ वर्षिया महिलालाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि सोही दिन राती पौने १२ बजे भेरी अस्पताल नेपालगन्ज ल्याएर उपचार गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण पद्धतीमा उपचार गर्दागर्दै ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि ती महिलाको दुवैतर्फको फोक्सोको निमोनियाका कारण मृत्यु भएको केन्द्रले जनाएकोछ ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमरमा गत असोज १५ गते कोरोना पोजेटिभ पाइएपछि अस्पतालको कोभिड– १९ युनिटमा राखी उपचार गराइरहेकी ८२ वर्षिया महिलाको मृत्यु भएको हो ।

लामो समयदेखि मधुमेहबाट पीडित महिलाको स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण विधि अपनाउदाँ समेत उनको स्वास्थ्यमा सुधार नभएको र दुवै फोक्सोको निमोनिया भइ मृत्यु भएको केन्द्रले जनाएकोछ ।

यसबीच बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा बसेका ११ महिला र २५ पुरुष गरि ३६ जना डिस्चार्ज भएकाछन् । यो संगै बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार ७ सय ९ पुगेकोछ ।