‘दशैं अघि लकडाउन हुँदैन’


‘दशैं अघि लकडाउन हुँदैन’

काठमाडौं : कोरोना संक्रमण ह्वात्तै बृद्धि भएपनि सरकारले भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने नीति लिएको छ । कतिपय अस्पतालमा थप शैयाको व्यवस्थापन गरेर भएपनि सकभर लकडाउन घोषणा नगर्ने योजना रहेको छ ।

सक्रिय संक्रमितको संख्या अहिले २५ हजार ७ पुगेको छ । यी संक्रमितहरु होम आइसोलेसन र संस्थागत आइसोलेनमा बसिरहेका छन् ।सेतोखरीसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले, संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन् । त्यस्तै होम आइसोलेसनमा ९ हजार १ सय ७२ जना रहेको बताए ।

कोरोना संक्रमितको संख्या बृद्धि भएपनि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै कार्यक्रम नरहेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमका ती पदाधिकारीले भने,–‘दशैं अघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै योजना छैन ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पनि लकडाउन घोषणा गर्नुको औचित्य नभएको बताए । ‘बेड (शैया)ले पुगेसम्म लकडाउन घोषणा हुँदैन ।’ प्रवक्ता गौतमले सेतोखरी समाचारदातासंग कुरा गर्दै भने, ‘स्वास्थ्य संकटकाल घोषणा गरेर पनि के गर्ने ? बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ । जनताले केहि नगर्ने सरकारले विभिन्न घोषणा गरेर मात्र के गर्ने ?’

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमण बढिरहेको बेला पनि बिना काममा बाहिर निस्कने, घुमफिर गर्ने, भौतिक दूरी कायम नगर्ने र मास्क नलगाउने प्रबृत्ति कायम रहेकोमा उनले चिन्ता व्यक्त गरे । ‘संक्रमितहरु बढेकोले बेड तथा अस्पताल थप्दै जानुपर्छ । कतिपय ठाउँमा अस्पताल पुरा क्षमतामा चलेका पनि छैनन् । बेडको व्यवस्थापन हुन सकेको छैन । सकेसम्म हामीले लकडाउन वा स्वास्थ्य संकटकाल कुनै पनि घोषणा गर्दैनौं ।’ डाक्टर गौतमले भने ।

डिस्चार्ज हुने भन्दा संक्रमितको संख्या झण्डै तेब्बरले बृद्धि भएपछि उपचार व्यवस्थापनमा चुनौती बढेको छ । बुधबार मुलुकभर १ हजार १ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भार थाम्न मुस्किल

बुधबार एकैदिन मुलुकभर ३ हजार ४ सय ३९ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो ।मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले संक्रमितको बृद्धिसँगै कतिपय अस्पतालमा शैया अभाव हुँदै गएको बताए । उनले भने, ‘बिरामीलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन । विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको छ । यहिं तरिकाले संक्रमित बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’

बुधबार काठमाडौंमा १ हजार २ सय ९६ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । त्यस्तै ललितपुरमा २ सय ९३ र भक्तपुरमा ९५ जना नयाँ संक्रमित पुष्टि भएको छ । मुलुकका सबै सरकारी एवं निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न आवश्यक रहेको प्रवक्ता गौतमले बताए । हरेक व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रवक्ता गौतमले भने, ‘सामान्य रुघाखोकी लागेमा वा ज्वरो आएमा पनि अस्पताल जाने क्रम बढेको छ । बिरामीलाई श्वास फेर्न गाह्रो भएमा, बेहोस हुने जस्तो भएमा वा पिसाब कम भएमा मात्र अस्पताल जान अनुरोध गर्दछु ।’

कसरी बढे संक्रमित ?

नजिकिंदो चाडसँगै सार्वजनिक स्थानमा बढेको भीडभाड, नाकमुख छोपिने गरि मास्क नलगाउने प्रबृत्ति र भौतिक दूरी कायम नराखि हिंडडुल गर्ने बानीका कारण संक्रमण दर बढेको छ ।

त्यस्तै साबुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने प्रबृत्ति पनि न्यून रहेको छ । जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले भने,‘चाडपर्वको बेला किनमेल गर्ने क्रममा सुरक्षा मापदण्ड अपनाएको पाईदैन । ठेलमठेल गर्ने बानीले पनि संक्रमण बढाएको छ ।’

मन्त्रालयका प्रवक्ता डाक्टर गौतम चाडपर्वसँगै किनमेल गर्नेको भीड देख्दा तीब्र रुपमा फैलिएको कोरोनालाई बिर्सिएको पो होकी जस्तो लाग्न थालेको बताउँछन् । ‘कोरोनाको संक्रमणबाट जोगिने र रोकथाम गर्ने हो भने अनावश्यक भीडभाड नगरौं । बाहिर निस्कनै पर्ने आवश्यक काम परे कोरोना जोखिमको कुरालाई मनन गरि मास्कको उचित प्रयोग गरौं ।’