कोरोना अपडेट

एकैदिन ४ हजार बढिमा संक्रमण, संक्रमित संख्या एकलाख नजिक


एकैदिन ४ हजार बढिमा संक्रमण, संक्रमित संख्या एकलाख नजिक

नेपालगन्ज : चाडबाड नजिकिएसगैं नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढेकोछ । कोरोना संक्रमित दर बढेपछि आम सर्वसाधरण त्रसित बनेकाछन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म एकैदिन भेटिएका संक्रमितको यो ठूलो संख्या हो ।

बिहीबार भेटिएका चार हजार ३६४ संक्रमितसगैं नेपालमा कुल कोरोना संक्रमित संख्या ९८ हजार ६१७ पुगेकोछ । भने बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । बिहीबारसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

मन्त्रालयका अनुसार नेपालमा एकै दिन ४ महिला र ८ पुरुष गरि थप १२ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने कोरोना संक्रमित देशका ८ वटा जिल्लाका हुन् । सुनसरीका ३९, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौंका ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरका ७३ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै, चितवनका ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतका ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।