नेपालगन्ज : नेपालगन्जका नागरिक समाजका अगुवाले अनशनरत डाक्टर गोविन्द केसीका माग पुरा गर्न सरकारलाई दवाव दिएका छन् ।
नेपालगन्जको विपी चोकमा शुक्रबार दिउँसो विभिन्न पोस्टरसहित सरकारलाई सांकेतिक रुपमा दवाव दिदै तत्काल केसीका माग पुरा गरी उनको जीवन बचाउनुपर्ने नागरिक समाज बाँकेले आग्रह गरेको छ ।
सो क्रममा बोल्दै बाँकेका अग्रज कानून ब्यवसायी प्रह्लादबहादुर कार्कीले सरकार डाक्टर गोविन्द केसीको मागप्रति गम्भीर नभएको बताए । उनले स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगतीविरुद्ध पटक–पटक अनसन बस्दा पनि डाक्टरको मागप्रति सरकार गम्भीर नबनेको बताए ।
यसबीच, सरकारलाई दवाव दिन शनिबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडी बिहान १० बजे धर्ना दिने कार्यक्रम तय भएको उच्च अदालत बार नेपालगन्जका निर्वतमान अध्यक्ष एवम् अभियन्ता बलबहादुर चन्दले सेतोखरीलाई जानकारी दिए ।
सरकारले डाक्टर केसीको माग पुरा नगरे असोज २५ गतेबाट आमरण अनसन सुरु गर्ने बाँकेका पत्रकार एवम् अभियन्ता जयसिंह केसीले घोषणा गरिसकेका छन् ।
नागरिक समाज बाँकेको संयोजनमा गरिएको दवाव मुलक कार्यक्रममा कानून ब्यवसायी, समाजसेवी, सञ्चारकर्मी, ब्यवसायी, राजनीतिककर्मी लगायतको स्वतःस्र्फुत रुपमा सहभागिता रहेको थियो ।