नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले आगामी कार्तिक १ गतेबाट इमरजेन्सी सेवा निःशुल्क गर्ने भएको छ । अस्पताल विकास समितिको शुक्रबार बसेको बैठकले अस्पतालको इमरजेन्सी सेवामा लिइदै आएको शुल्क कार्तिक १ गतेबाट नलिने निर्णय गर्दै इमरजेन्सी सेवा निःशुल्क गर्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए ।
उनका अनुसार इमरजेन्सी अवस्थामा आएका विरामीलाई अस्पताल भित्र पाइने सम्पूर्ण सेवा निःशुल्क दिइनेछ । कुनै ब्यक्ति विरामी भई वा दुर्घटनामा परि अस्पताल आएमा उसको अप्रेसन समेत निःशुल्क गर्ने निर्णय भएको अध्यक्ष धितालले बताए ।
रकम अभावमा कोहि पनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले इमरजेन्सी सेवा निःशुल्क गरिएको उनको भनाई छ । ‘अब उपचारबाट कोही बञ्चित हुनुपर्ने छैन । इमरजेन्सी अवस्थामा अस्पताल आएका विरामीको अप्रेसनदेखि औषधि, भिडियो एक्स–रे, सिटि स्क्यानसम्म निःशुल्क हुने छ,’ उनले भने ।
अहिले इमरजेन्सीका लागि पर्चाको २५ रुपैँया शुल्क लिने गरिएको छ । भने, विभिन्न जाँच बापतको शुल्क विरामीले तिर्नुपर्छ । इमरजेन्सी सेवा निःशुल्क भएपछि दुर्घटनामा परेका र अकस्मात विरामी परेका ब्यक्तिले छिटो उपचार पाउने र रकम खोज्ने टन्टा हट्ने भएको छ ।