नेपालगन्ज : अनसनरत डाक्टर गोविन्द केसीको मागलाई सरकारले सम्बोधन नगरेपछि नेपाल चिकित्सक संघले देशभरका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेकोछ ।
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आईतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको हो ।
२७ दिनदेखि अनसनरत डाक्टर केसीको माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै डाक्टरको माग सम्बोधन गर्न संघले सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ ।
आईतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रम जाने भन्दै संघले यस्तो चेतावनी दिएको हो ।
यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघ फेरि आन्दोलित बनेको हो ।
केसीको १९ औं आमरण अनशन आज २७ औं दिनमा पुगेको छ । तर केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच मागका सम्बन्धमा सहमति नजुट्दा अनसन जारी रहेको छ ।