नेपालगन्ज : नेपालमा एकै दिन हालसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित भेटिएकाछन् । यो संख्या हालसम्मकै सबैभन्दा बढि मात्रामा संक्रमित भेटिएको संख्या हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६ सय ८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको बताए ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । शनिबारसम्म ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा दश जिल्लाका २ महिला र १२ पुरुष गरि थप १४ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा सुनसरीका ४५, मोरङका २० र ७२, सर्लाहीका ७१ वर्षीय पुरुष, काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, ललितपुरका ४३ र ४९, भक्तपुरका ६८, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङका ३१ वर्षीया महिला, नवलपरासी पूर्वका ३६ र रुपन्देहीका ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार नेपालमा १० जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हाल नेपालमा कुल मृत्युदर शून्य दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।