देशभर सक्रिय कोरोना संक्रमित संख्या ३३८८० पुग्यो


देशभर सक्रिय कोरोना संक्रमित संख्या ३३८८० पुग्यो

नेपालगन्ज : देशभर सक्रिय कोरोना संक्रमित संख्या ३३ हजार ८ सय ८० पुगेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप चार हजार ४७ संक्रमित फेला परेसगैं नेपालमा सक्रिय कोरोना संक्रमित संख्या ३३ हजार ८ सय ८० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल कोरोना संक्रमित संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७३ जनाले कोरोना जितेर घर फर्केकाछन् । भने सोमबार बेलुकासम्म देशभर ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव १ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । सोमबारसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ जना र होम आइसोलेसनमा १९ हजार ९ सय ५७ जना रहेका छन् । सोमबार बेलुकासम्म देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर ६७ जनाको भेन्टिलेटरमा र २ सय ७९ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यस्तै नेपालमा सोमबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाँच जिल्लाका ७ पुरुष र २ महिला सहित थप ९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार सुनसरीका ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंका ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरका ५० वर्षीय पुरुष, चितवनका ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार २२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५८ प्रतिशत छ ।