नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना भाइरस रोकथाम तथा न्यूनिकरण एंवम प्रभावितको व्यवस्थापनका लागि अग्रपंक्तिमा रही कार्य गर्दै गर्दा उनलाई कोरोना लागेको हो ।
केही दिनदेखि निरन्तर खोकी लागेपछि पीसिआर परीक्षण गराउँदा मङ्गलबार आएको रिर्पोटमा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसगैं नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१, धम्बोझी निवासी उपमेयर थापा होम आईसोलेसनमा बसेकी छन् ।
स्वास्थ्य अवस्था सामान्य रहेको तर, खोक लागिरहेको भन्दै उनले आफ्नो अन्य स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् ।
कोरोना संक्रमणबाट बच्न सबैले सावधानी अपनाउ आग्रह गर्दै उनले कोरोना सामान्य नरहेको, भीडभाड नजान, मास्कको उचित प्रयोगसगैं स्यानिटाईजरको प्रयोग र साबुन पानीले हात सफासंग धुदै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेकीछन् ।
नेपालगन्जमा लकडाउन सुरु हुनभन्दा अघिदेखि नै उनी कोरोना सचेतना, रोकथाम र नियन्त्रणमा निरन्तर खटेकी थिइन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ मा एकै टोलका २५ जनालाई कोरोना संक्रमण भएका बेलामा स्थानीयले कोरोना परीक्षण गराउन नमान्दा नगरप्रमुख डाक्टर धवल शम्शेर राणा र उप–प्रमुख थापा मगरले कोरोना परीक्षणका लागि समुदायलाई उत्प्रेरणा जगाएका थिए ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण हुदाँ केही दिन उपमहानगरपालिका सिल गरिएको थियो भने कोरोना संक्रमितको एक कर्मचारीको मृत्यु समेत भइसकेकोछ ।
यसैबीच, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ४३ हजार ७ सय ९१ जनाको स्वाब नमुना प्राप्त हुदाँ हालसम्म ४३ हजार ७ सय ४८ जनाको परीक्षण गरिएको छ ।
अस्पतालको प्रयोगशालामा गत बैशाख ७ गतेदेखि मङ्गलबार बेलुकासम्म ४३ हजार ७ सय ४८ जनाको स्वाब नमुना परीक्षण गर्दा तीन हजार १८ जना संक्रमित भेटिएकाछन् । यस्तै गत २४ घण्टामा ४ सय ५ जनाको स्वाब परीक्षण गर्दा थप ८६ जनामा कोरोना पुष्टि भएकोछ ।
यसअघि सोमबार बाँकेमा १० महिला र २५ पुरुष गरि थप ३५ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ४ सय ४० पुगेको थियो । सोमबारसम्म बाँकेमा ५ सय ६७ सक्रिय कोरोना संक्रमित रहेका थिए ।
त्यसैगरी सोमबार बाँकेका ३८ जनाले कोरोना जितेर घर फर्केका थिए । यो अवधिमा बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ८ सय ४७ पुगेको थियो । मङ्गलबार रातीसम्म बाँकेका २६ जना र बाहिरी जिल्लाका १२ जना गरि ३८ जनाको मृत्यु भएको छ ।