सांसद चौधरीको स्वास्थ्य सुधारोन्मुख


सांसद चौधरीको स्वास्थ्य सुधारोन्मुख

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा उपचाररत लुम्बिनी प्रदेशका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीको स्वास्थ्यमा सुधार आएको छ ।

लक्षण सहितको कोरोना संक्रमण भएपछि थप उपचारका लागि दाङबाट भेरी अस्पताल आएका पूर्व श्रम राज्यमन्त्री समेत रहेका काँग्रेस नेता चौधरीले स्वास्थ्यमा राम्रो सुधार आएको बताएका छन् ।

भेरी अस्पतालको एक नम्बर क्याविनमा रहेका उनले ज्वरो, खोकी निको भइसकेको बताउँदै र सुगर पनि नियन्त्रण हुने क्रममा रहेको बताए । पहिलेको भन्दा स्वास्थ्यमा धेरै सुधार भइसकेको र चाँडै निको भएर जनताको सेवामा फर्किने उनले बताए । 

उनले आफ्नो स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएकोले चिन्ता नलिन सबैसँग आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यको बारेमा चासो र चिन्ता लिने सबैलाई धन्यबाद दिँदै उनले कोरोनालाई सामान्यरुपमा नलिन सुझाव दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोनाबाट जोगिन विश्व स्वास्थ्य संगठनले बनाएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र सामाजिक दूरी पालना गर्न सबैसँग उनले आग्रह गरेका छन् ।

यसअघि दाङमा कोरोना जाँच गराउँदा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । ज्वरो र खोकी नरोकिएपछि टाइफाइडको आशंमा उपचार थालिएको थियो । नेपालगन्ज स्थित भेरी अस्पतालको कोरोना ल्याबमा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।