नेपालगन्ज : कोरोना संक्रमण जोखिमका कारण बन्द रहेका सबै देवी–देवताका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताउँछन् ।
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशेदेवी लगायत शक्तिपिठ कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समिति सचिव राजाराम कपालीले दशैंका बेला विशेष पूजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए ।
विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने बताए । तर, सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए । तर, पनि स्थानीय भक्तजनको आग्रहमा कात्तिक १ देखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुला गरिने उनको भनाइ छ । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर, विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए ।
कोभिड– १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजाबाहेक सबै गतिविधि बन्द गरिएका छन् ।
अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन । तर, अधिकांश मन्दिरहरु कात्तिक १ देखि सीमित रुपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन् ।
यसैबीच पश्चिम नेपालको शक्तिपिठ नेपालगन्जस्थित बागेश्वरी मन्दिर खुला गर्ने विषय अन्यौल बनेकोछ । नेपालीहरुको महान चाड दशै आउन दुई दिन बाँकी रहँदासम्म पनि मन्दिर खुला गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता छाएकोछ ।
धार्मिक परम्पराअनुसार वर्षदिनमा गरिनुपर्ने पूजापाठ लगायतका काम सबै प्रभावित बन्ने भन्दै श्रद्धालुहरुले बागेश्वरी मन्दिर खुला गर्न माग गरिरहेकाछन् । यद्यपी स्थानीयबासीले चाडबाडमा बागेश्वरी मन्दिर खुला गर्न दबाब भने दिएपनि सम्बद्ध सरोकार मौन रहेकाछन् ।