नेपालगन्ज : नेपालमा बिहीबार थप तीन हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७ सय ४९ संक्रमित फेला परेका हुन् । योसगैं नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । देशभर बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । बिहीबारसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । बिहीबारसम्म देशभर चार हजार ८२५ जना क्वारेन्टिनमा रहेका छन् । भने देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय नजिक पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।
यसअघि बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आईतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।