नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित एक ब्यक्तिको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत जानकी गाउँपालिका वडा नम्बर ६, प्रजातीपुरका ६५ वर्षिय कोरोना संक्रमितको पुरुषको बुधबार राती १० बजे मृत्यु भएको हो । योसगै बाँकेमा कोरोना संक्रमित मृतक संख्या २७ पुगेकोछ ।
स्वास्थ्यमा समस्या आएपछि गत असोज १० गते साँझ भेरी अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषको कोरोना जाँच गर्दा असोज २७ गते कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएका ती पुरुषलाई बचाउन प्लाज्मा थेरापी तथा रेमडेसिभर लगायत आवश्यक सम्पूर्ण उपचार पद्धती अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार हुन नसक्दा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि ती संक्रमितको दुवै फोक्सोको निमोनियाका कारण मृत्यु भएको केन्द्रले जनाएकोछ । बाँकेमा जिल्लामा हालसम्म सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमितको मृत्यु भएकोछ ।
बाँकेको नरैनापुर, बैजनाथ, खजुरा तथा जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा हालसम्म कोरोना संक्रमितको मृत्यु भइसकेकोछ ।
यस्तै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि ल्याइएका १२ जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।